२०८२ असार १७ गते, मंगलवार ०७:५५

पर्सा –

मधेश प्रदेशमा लागूऔषध गाँजा तस्करीको समस्या दिनानुदिन बढ्दै गएको छ। सर्लाही, पर्सा, सप्तरी, रौतहटलगायतका जिल्लाहरू गाँजा तस्करीको प्रमुख ट्रान्जिट हब बन्दै गएका छन्। केही दिनअघि सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटमा प्रहरीले २ सय ४४ किलो गाँजासहित २५ वर्षीय सुशील चौधरीलाई पक्राउ गरेको थियो। यो घटना मधेश प्रदेशमा गाँजा तस्करीको बढ्दो प्रवृत्तिको पछिल्लो उदाहरण हो।

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ५ सय ४० किलो ९५० ग्राम गाँजा बरामद भएको थियो। तर, २०८१/०८२ मा यो परिमाण झन्डै ४ हजार किलो बढेर १२ हजार ३ सय ९१ किलो ६ सय ६ ग्राम पुगेको छ। सर्लाही र सिन्धुलीको चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती हुने गरेको प्रहरीको सूचना छ। मकवानपुर, सिन्धुली, सर्लाही र पर्साबाट उत्पादित गाँजा सीमावर्ती भारतीय बजारमा तस्करी हुने गरेको पक्राउ परेकाहरूको बयानबाट खुलेको छ।

सर्लाहीको पछिल्लो घटनामा, सिन्धुलीको मरिनबाट लालबन्दी आउँदै गरेको बा२०च १७८२ नम्बरको पिकअप गाडीमा भुसको बोरामुनि लुकाइएको ४५ पोका गाँजा फेला परेको थियो। इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले पक्राउ परेका चौधरीको मोबाइलमा कोड भाषामा विभिन्न व्यक्तिको नाम सेभ भएको फेला परेको बताए। “मुख्य सप्लायर्सको नाम कोड भाषामा राखिएको हुन सक्छ,” पाठकले भने। प्रहरीले तस्करीको मुख्य लगानीकर्तालाई पक्रन अनुसन्धान तीव्र पारेको दाबी गरेको छ।

यस्तै, रौतहटको इशनाथ नगरपालिका–१ को झोलुंगे पुलनजिक २०८१ चैत २६ मा प्रहरीले २१ वर्षीय सावन गिरीलाई १ सय ९ किलो गाँजा र हतियारसहित पक्राउ गरेको थियो। यो घटनामा तस्करहरूले हतियारको आडमा रेकी गरेर गाँजा भारत लैजाँदै गरेको पाइयो। प्रहरीले गिरीसहित ४ बोरा गाँजा बरामद गरे पनि अन्य ६–७ जना भागेका थिए।

पर्सामा पनि गाँजा तस्करी र खेतीको समस्या उत्तिकै चिन्ताजनक छ। चालु आर्थिक वर्षमा पर्सामा २ सय २० वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। प्रहरीले ३७ बिघा ४ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरेको छ। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले सामुदायिक र साझवनमा अतिक्रमण गरेर गाँजा खेती हुने गरेको बताए। “नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा फडानी गरिरहेको छ,” उनले भने। पर्सामा ०७९/०८० मा १ हजार १ सय २३ किलो, ०८०/०८१ मा ४ सय ६७ किलो र ०८१/०८२ को फागुनसम्म १ हजार ५३१ किलो गाँजा बरामद भएको छ।

सप्तरीमा पनि गाँजा तस्करीको अवस्था गम्भीर छ। गत भदौ २२ मा कर्जन्हा नगरपालिका–११ बाट ३ क्विन्टल गाँजासहित प्रदीप मुखिया पक्राउ परेका थिए। त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिका–१ को कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले ७ महिनामा ४ सय ९० किलो गाँजा बरामद गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले चुरे क्षेत्रमा गाँजा र अफिमको उत्पादन बढेको बताए। “पक्राउ परेकाहरूले मुख्य लगानीकर्तालाई जोगाउन झुटो बयान दिने गर्छन्,” उनले भने। अवकाशप्राप्त पूर्वप्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजमार्गमा प्रहरीको प्रभावकारी सक्रियता र सूचना संयन्त्र बलियो बनाउनुपर्ने सुझाए।

पर्सा जिल्ला प्रशासनले चैत २७ बाट लागूऔषध रोकथाम र नियन्त्रणका लागि तीन महिने सचेतनामूलक कार्यक्रम सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नयाँ पुस्तालाई लागूऔषधबाट जोगाउन यो अभियान थालिएको बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस