काठमाडौँ –

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरुको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताउनुभएको छ ।
मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिनुभएको तर नेपालकै प्रधानमन्त्रीहरुले चासो नदिने गरेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालका धामहरुको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटकहरु भित्र्याउन सकिने बताउनु भयो । पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरु आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उहाँको भनाइ छ । नेपालको धार्मिक स्थलहरुको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड (भारत)तातेर अर्थ नरहने बताउनु भयो । उहाँले सरकारले भारतीय सेनामा नेपालीहरुलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरुमा नेपालीहरु सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गर्नुभयो ।
उपसभापति गुरुङले छिमेकीसँग प्रगाढ सम्बन्ध राखेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले आफूले केही नगर्ने र अरुले सबै गरिदिनुपर्ने सोच राखेर हिँड्न नहुने बताउनु भयो । उहाँले नेतृत्वमा बसेकाहरुले आफ्नो भुमिका सोच्नुपर्ने र मात्रै नेपालको समृद्धिमा भारतको भुमिकाका बारेमा छलफल गर्न उचित हुने उल्लेख गर्नुभयो ।