२०८२ असार १७ गते, मंगलवार ००:३७

काठमाडौं-

जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको स्थायी ठेगाना बुटवल उपमहानगरपालिका–१४ रहेको खुलेको छ। बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाका अनुसार, मृतक न्यौपाने वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका भतिज हुन्।

वडाध्यक्ष दधिराम न्यौपानेले पनि भतिज सुदीपको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार, सुदीप गत शनिबार घुम्नका लागि घरबाट परिवारसहित निस्किएका थिए।

“गएको शनिबार घुम्न गएको थियो। आमालाई पनि लगेको थियो, छोरी, ज्वाइँ–छोरी पनि सँगै थिए। त्यस्तो दुःखद् घटना भयो,” वडाध्यक्ष न्यौपानेले भने। आक्रमणमा सुदीपसँगै रहेका अन्य तीन जना भने सकुशल रहेको उनले जानकारी दिए।

वडाध्यक्ष न्यौपानेका अनुसार, सुदीप धरानमा पब्लिक हेल्थमा स्नातक तहमा अध्ययनरत थिए। “ऊ एकदम राम्रो विद्यार्थी हो। बाबुको पढाइ राम्रो थियो। केही समय काठमाडौं पनि पढेको हो। पछिल्लो समय धरानमा पढ्दै थियो,” उनले भने।

वडाध्यक्ष न्यौपानेले सुदीपको शव आजै नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। शव बुझ्न र आवश्यक प्रक्रिया मिलाउन उनी आफैं काठमाडौं आएका छन्। “आज साँझसम्म काठमाडौं शव ल्याउने कुरा छ। म अहिले भर्खर काठमाडौं आएँ,” उनले बाह्रखरीसँग भने।

उल्लेखनीय छ, जम्मू–कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा परी कम्तीमा २७ पर्यटकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमले यस आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेको पनि मृत्यु भएको खबर सार्वजनिक गरे पनि उनको नेपालको ठेगाना र आधिकारिकता यसअघि पुष्टि हुन सकेको थिएन।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस