काठमाडौँ –

नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्ने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले यस्तो बताउनुभएको हो । उहाँले अवकाशलगत्तै कर्मचारीहरू संवैधानिक र राजनीतिक नियुक्ति लिएर स्वार्थको खेल खेल्ने प्रवृत्ति कर्मचारीहरुमा हावी भएको भन्दै यसलाई रोक्न पनि कम्तिका दुई वर्ष कुलिङ पिरियड राख्नैपर्ने जिकिर गर्नुभयो । उहाँले कुलिङ पिरियड नराख्दा समय समयमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव स्थायी सरकारमा समेत पर्ने गरेको बताउनु भयो ।
उहाँले ट्रेड युनियनहरुले विधेयकको लागि ७२ घण्टे अल्टिमेटम दिएको उल्लेख गर्दै नासुको विषयमा समेत सहमति गर्नुपर्ने बताउनु भयो । मंगलवारको बैठकमा दलगत ट्रेड युनियनका प्रतिनिधिहरुले पाँच वर्ष काम गरेका नायव सुब्बालाई एक तह र १० वर्ष काम गरेकाहरुलाई एक श्रेणी बढुवा गर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो । उहाँले सरकारको दबाबमा परेर नभई सर्वसहमतिबाट विधेयक पास गर्नुपर्ने बताउनु भयो । उहाँले स्थायी सरकार मानिने कर्मचारीहरुलाई सडकमा नआउने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।