२०८२ असार १७ गते, मंगलवार ०१:३६

काठमाडौं-

गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि गरेका छन्।

नेपालमा इन्जिनियरिङ अध्ययनरत न्यौपाने बिदाको समयमा आफ्नी आमासहित घुम्न गएका बेला उक्त हमलामा परेको जानकारी गृहमन्त्री लेखकले दिएका हुन्।

बिहीबार सुरक्षा संवाददाताहरुसँगको अन्तरक्रियामा गृहमन्त्री लेखकले भने, ‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ। यो प्रारम्भिक जानकारी हो।’ घटनाबारे थप विवरण लिन दूतावासमा समेत सम्पर्क भइरहेको उनले बताए।

उल्लेखनीय छ, मंगलबार कश्मीरको पर्यटकीय स्थल पहलगामको बैसारनमा आतंकवादी हमला भएको थियो, जसमा कम्तीमा २६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पहलगामबाट ६ किलोमिटर टाढा रहेको बैसारन सुन्दरताका कारण ‘मिनी स्विटजरल्याण्ड’ भनेर चिनिन्छ र यो पर्यटकमाझ लोकप्रिय गन्तव्य हो।

भारतीय मिडियाका अनुसार, आतंकवादीहरूले पर्यटकहरूलाई नियन्त्रणमा लिएर नाम सोधी–सोधी गोली हानेर मारेका थिए। मारिनेहरूमा नेपाल र यूएईका नागरिकसहित भारतका गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिकहरू रहेका छन्। उक्त घटनामा केही पर्यटक घाइते पनि भएका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस