काठमाडौं-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको हो । निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन् । मंगलवारको समितिको बैठकमा आफ्ना मागहरु सम्बोधन गर्दै ७२ घण्टाभित्र विधेयक पास गर्न समितिलाई अल्टिमेटम दिएका छन् । विधेयकलाई टुंग्याउन दबाब दिन तथा वातावरण नबिथोल्न आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का सांसद रघुजी पन्तले कर्मचारीको कुलिङ पिरियड नै नराख्न प्रश्ताव गर्नुभएको छ । उहाँले कुलिङ पिरियडको विषयमा अल्पमत र बहुमत कायमै रहेको कारण कुलिङ पिरियड नराख्न सुझाव दिनुभएको हो । कुलिङ पिरियडको विषयले विधेयक नै अल्झाएको भन्दै यस विषयमा विधेयक अल्झाउन नहुने बताउनु भयो । उहाँले पार्टीका फरक फरक विचार भएपनि विधेयकमा साझा सहमति खोज्न आवश्यक रहेको बताउनु भयो ।नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदीय उपसमितिका तीन वटा बुँदामा आफ्नो असहमति रहेको बताउनु भयो ।
उहाँले कुलिङ पिरियड, अतिरिक्त सचिव, भेटेनरीको तहको विषयमा असहमति राख्नुभयो । उहाँले कर्मचारीको कुलिङ पिरियड कम्तिमा पनि दुई वर्ष हुनुपर्ने बताउनु भयो । सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद राख्न नहुने उहाँको भनाइ छ । भेटेरेनरीमा ८ औं तह राख्न आवश्यक समेत पाण्डेले बताउनु भयो ।
संघीय निजामति विधेयकको अन्तिम चरण पुगेको छ । अब सहमति हुन नसकेका विषयमा शिर्ष नेतृत्वबीच छलफल गरेर विधेयक टुंग्याउने समितिको तयारी छ ।