२०८२ श्रावण ३० गते, शुक्रबार ०६:४७

वीरगन्ज –

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा बुधबार एक अप्रत्याशित घटना भएको छ।

इजलास नम्बर १ मा न्यायाधीशहरू प्रवेश गर्नुअघि नै एक अपरिचित महिला इजलास कक्षभित्र पसेर सिन्दुर, पोते र अक्षता छरेर बाहिर निस्केकी छन्। उनको यो कार्यले इजलासको नियमित सेवा प्रभावित भएको छ। सुरक्षाकर्मीको उपस्थितिमा अदालतभित्र प्रवेश गरी फरार भएकी ती महिलाको खोजी प्रहरीले तीव्र पारेको छ।

उच्च अदालत वीरगन्जका सूचना अधिकारी सम्मी कपुर साहका अनुसार, न्यायाधीशहरू र कर्मचारीहरू पेशी तोक्नका लागि गोला प्रथा गर्ने कार्यमा व्यस्त रहेका बेला उक्त घटना भएको हो।

‘माननीय न्यायाधीशज्यूहरू गोला प्रथा गराउनमा व्यस्त हुनुहुन्थ्यो, हामी कर्मचारी प्राविधिक काममा सघाउँदै थियौं,’ उनले भने, ‘सिसिटिभी क्यामेरामा हेर्दा बिहान ८ बजेर ४० मिनेटमै ती महिला सुरक्षाकर्मीको आँखा छलेर अदालत परिसरभित्र प्रवेश गरेकी थिइन्।’ घटना भने पौने ९ बजेतिर भएको अनुमान गरिएको छ।

अदालत प्रवेश गर्नुअघि सुरक्षाकर्मीले गेटमा नै जाँच गर्ने र प्रवेशको कारणसहित रजिष्टरमा नाम लेख्नुपर्ने नियम छ। पछिल्लो समय अनावश्यक भिडभाड कम गर्न प्रवेश पासको समेत व्यवस्था गरिएको छ। तर, ती महिलाको हर्कतले अदालतको कामकाज करिब डेढ घण्टा अवरुद्ध भएको थियो।

प्रहरीलाई खबर गरी घटनाबारे अनुसन्धान सुरु भएपछि मात्र अदालतको कामकाज पुनः सञ्चालन गरिएको सूचना अधिकारी साहले जानकारी दिए।

यता, प्रहरीले घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले घटनाबारे जानकारी आएलगत्तै प्रहरी निरीक्षकको टोलीलाई अनुसन्धानका लागि पठाइएको बताए।

‘एक जना महिला प्रवेश गरेर इजलासमा सिन्दुर र अक्षता छरेको जस्तो देखिएको छ,’ उनले भने, ‘तनाव, उत्तेजना वा अन्य कुनै भड्काउको कारणले यो घटना भएको हुन सक्छ। हामी सिसिटिभी फुटेजको आधारमा उनको खोजी गरिरहेका छौं।’ शंकास्पद महिलालाई पक्राउ गरेपछि घटनाको थप विवरण खुल्ने उनको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस