काठमाडौं –
नेपाल विद्युत् प्राधिकरणले हाल विद्युत व्यवस्थापन गर्न कठिन भइरहेको जनाएको छ। प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै विद्युतको वर्तमान अवस्थाबारे जानकारी गराएको हो।
प्राधिकरणका अनुसार सुख्खा मौसमका कारण नदीनालामा पानीको बहाव घटेको छ। यसले गर्दा जलाशययुक्त र सौर्य ऊर्जासहित देशभित्रको कुल विद्युत उत्पादन औसत १ हजार १७५ मेगावाटमा सीमित भएको छ। तर, अहिलेको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ। सो समयमा अधिकतम विद्युत उत्पादन भने १ हजार ५९३ मेगावाट मात्र रहेको प्राधिकरणले उल्लेख गरेको छ।
माग र उत्पादनबीचको ठूलो अन्तरलाई पूर्ति गर्न भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ। तर, गर्मीयाम सुरु भएसँगै भारतमा विद्युतको माग अत्यधिक बढेकाले नेपालले चाहेजति विद्युत किन्न पाइरहेको छैन। प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयामा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ। नपुग विद्युत भारतबाट आयात गरी आपूर्ति गर्ने गरिएको छ। गर्मीयाम सुरु भएसँगै भारतमा अत्याधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न पाएको छैन।’
नेपालले छिमेकी मुलुक भारतबाट पीईसीमार्फत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतम ३५० मेगावाट विद्युत आपूर्ति गर्ने अनुमति पाएको छ। तर, हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ बजेसम्म जम्मा ५० मेगावाट मात्र विद्युत आपूर्ति भइरहेको छ।
भारतमा जारी आईपीएल क्रिकेट खेलका कारण विद्युतको माग बढेको र इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) को दररेट पीईसीको दररेटभन्दा बढी भएकाले विहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा पनि विद्युत प्राप्त हुन नसकेको प्राधिकरणले जनाएको छ।
उल्लेखित कारणहरूले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने गरेको भए पनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास जारी राखिएको प्राधिकरणको भनाइ छ। प्राधिकरणले नेपालका नदीनालामा पानीको बहाव छिट्टै बढ्ने र भारतबाट पनि विद्युत आपूर्ति बढ्ने अवस्था रहेकाले हाल देखिएको समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेको छ।