२०८२ आश्विन २० गते, सोमबार १९:५९

वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा पहलगाम आतङ्कवादी हमलाका मृतकप्रति श्रद्धाञ्जली, हिन्दु समुदायमाथि सुनियोजित आक्रमणको आरोप

वीरगन्ज–

भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मङ्गलवार भएको बर्बर आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति वीरगन्जमा विश्व हिन्दु परिषदले श्रद्धाञ्जली अर्पण गरेको छ। बुधवार गहवामाई मन्दिर परिसरको पार्कबाट जम्मा भएर नगर परिक्रमा गर्दै घण्टाघरमा आयोजित श्रद्धाञ्जली सभामा विभिन्न हिन्दुवादी सङ्गठनका अगुवा र प्रतिनिधिहरूले मृतकप्रति समवेदना व्यक्त गर्दै आतङ्कवादीहरूको कडा निन्दा गरे।

विश्व हिन्दु परिषदद्वारा आयोजित यो कार्यक्रमको मुख्य उद्देश्य पहलगामको बैसरन घाटीमा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएका २६ जनालाई श्रद्धाञ्जली अर्पण गर्नु र १२ जना घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु थियो। हमलामा बुटवलका सुदीप न्यौपानेसहित नेपाली नागरिकको पनि मृत्यु भएको छ, भने उनकी आमा घाइते छिन्।

‘मिनी स्विट्जरल्यान्ड’ को रूपमा विश्वप्रसिद्ध पहलगाममा भएको यो हमलालाई वक्ताहरूले हिन्दु समुदायमाथिको सुनियोजित आक्रमणको रूपमा व्याख्या गरे। सभालाई सम्बोधन गर्ने एक वक्ताले भने, “निर्दोष हिन्दु पर्यटकहरूलाई इस्लामिक आतङ्कवादीहरूले हिन्दु भएको कारण छानी–छानी हत्या गरे। यो अमानवीय र निन्दनीय कार्य हो।” उनले आतङ्कवादीहरूलाई कठोर कारबाही गर्नुपर्ने माग गरे।

वक्ताहरूले सुदीप न्यौपानेको मृत्युप्रति गहिरो दुख व्यक्त गर्दै उनकी घाइते आमाको शीघ्र स्वास्थ्य लाभको कामना गरे। उनीहरूले यस्ता हमलाहरूले हिन्दु समुदायमाथि आक्रमणको शृङ्खला बढिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। सनातन हिन्दु समाजले यो हमलालाई सुनियोजित ठहर गर्दै भारत सरकारसँग दोषीहरूलाई कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना रोक्न कडा सुरक्षा व्यवस्था गर्न माग गरेको छ। साथै, नेपाल सरकारसँग मृतकको परिवारलाई राहत र घाइतेको उपचारमा सहयोग गर्न आग्रह गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार, आतङ्कवादीहरूले प्रहरीको वर्दी लगाएर पर्यटकहरूमाथि नजिकैबाट गोली चलाएका थिए। यो हमला सन् २०१९ को पुलवामा हमलापछिको सबैभन्दा घातक मानिएको छ। पाकिस्तानस्थित निषेधित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाको छाता सङ्गठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले हमलाको जिम्मेवारी लिएको छ।

वीरगन्जका स्थानीय र हिन्दु समुदायले यो हमलालाई अमानवीय र धार्मिक आस्थामाथिको आक्रमणको रूपमा लिएका छन्। एक स्थानीय सहभागीले भने, “शान्तिको सन्देश बोकेर हिँड्ने हिन्दु समुदायमाथि बारम्बार यस्ता हमला भइरहेका छन्। यो रोकिनुपर्छ।” श्रद्धाञ्जली सभाले स्थानीय समुदायमा एकता र आतङ्कवादविरुद्ध लड्ने सङ्कल्पलाई बलियो बनाएको छ।

पोडकास्ट सुन्नुहोस