२०८२ असार १७ गते, मंगलवार ०१:१९

चितवन – 

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ। सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले निर्माण अघि बढाएको यो रङ्गशालाको काम धुर्मस–सुन्तली फाउण्डेसनले गर्न नसकेपछि महानगरले जिम्मेवारी लिएको थियो।

हिमालयन कालिञ्चोक बिबिआर जेभीले ७८ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का लिएर गत साउनदेखि निर्माण सुरु गरेको हो। महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चारवटा प्याराफिटमध्ये एउटाको ढलान सम्पन्न भएको छ, अर्को ढलानको तयारी भइरहेको छ। दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी पनि चलिरहेको छ।

आचार्यले दैनिक १७० भन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको बताए। छड र सिमेन्टको सहज उपलब्धतामा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम तीव्र गतिमा भइरहेको उनको भनाइ छ। गत असार २३ मा ठेक्का सम्झौता भएको यो रङ्गशाला २०८३ पुस २२ भित्र सम्पन्न गर्ने लक्ष्य छ।

रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएका छन्। प्रदेश सरकारले ७० प्रतिशत र सङ्घीय सरकारले ३० प्रतिशत बजेट उपलब्ध गराउने सहमतिअनुसार काम अघि बढेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भइरहेको यो रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलहरू आयोजना गर्न सकिनेछ।

रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा १९ कठ्ठा जमिनमा निर्माण भइरहेको छ, जुन हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको छ। गर्मीमा साँझ र राति पनि खेल खेलाउन बत्तीको व्यवस्थाका लागि महानगरले सङ्घीय सरकारसँग अनुरोध गरेको छ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सम्झौताअनुसार काम निर्धारित तालिकामा भइरहेको बताइन्। “महानगरले आवश्यक सहजीकरण गरिरहेको छ। सम्झौता अवधिभित्रै रङ्गशाला निर्माण सम्पन्न हुनेमा हामी विश्वस्त छौँ,” उनले भनिन्।

यो रङ्गशाला सम्पन्न भएपछि चितवन खेलकुद पर्यटनको केन्द्र बन्ने अपेक्षा गरिएको छ। स्थानीय समुदायले पनि निर्माण कार्यलाई तीव्र गतिमा सम्पन्न गर्न सहयोगको अपेक्षा राखेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस