काठमाडौं –
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आधारभूत मागहरू पूरा गर्न नसकेको भन्दै कडा चेतावनी दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै थापाले जनताको कुरा बेवास्ता गरे सरकारबाट बाहिरिने बताए ।
‘हाम्रा केही आधारभूत कुराहरू छन्, ती पूरा नभए हामी सरकारबाट बाहिरिन्छौँ,’ थापाले भने, ‘यो सरकारबाट मात्रै होइन, जनताको कुरा सम्बोधन नहुने र उठाएका मुद्दालाई वास्ता नगर्ने जुनसुकै सरकारबाट पनि हामी बाहिरिन्छौँ ।’

थापाले पुराना नेताहरूका कारण देशमा बेचैनी र असन्तुष्टि बढिरहेको पनि बताए । ‘नागरिकले जसका कारण असन्तुष्टि र बेचैनी महसुस गरिरहेका छन्, तिनै व्यक्तिहरूलाई अझै पनि नेतृत्वमा देखिरहेका छन्,’ उनले भने, ‘हामी भनिरहेका छौँ, अब यो गाडी तिमीले चलाएर हुँदैन । हामी यसका लागि काम गरिरहेका छौँ ।’