काठमाडौं –
गर्मीको मौसम सुरु भएसँगै मानिसहरूको खानपानको रुचिमा पनि परिवर्तन आउँछ । तातो घाम र बढ्दो गर्मीबाट राहत पाउन हामी यस्ता खानेकुरातर्फ आकर्षित हुन्छौँ, जसले शरीरलाई चिसो र तरोताजा राखोस् । यस्तोमा तरबूज सबैभन्दा रुचाइएको फल बन्छ । यो फल स्वादिलो, रसदार र मीठो मात्रै होइन, शरीरमा पानीको कमी पूरा गर्न पनि मद्दत गर्छ । तरबूजमा भिटामिन ए, सी, पोटासियम र फाइबरजस्ता पोषक तत्वहरू पाइन्छन्, जसले यसलाई गर्मीको लागि स्वस्थकर खानेकुरा बनाउँछ । यो फलले पाचन प्रणालीलाई सुधार गर्छ, छालालाई चम्किलो बनाउँछ र शरीरलाई हाइड्रेटेड राख्छ ।
तर, के तपाईंलाई थाहा छ, तरबूज सबैका लागि फाइदाजनक नहुन सक्छ ? खासगरी कलेजो, एलर्जी वा मधुमेहजस्ता समस्या भएकाहरूले तरबूज खानुअघि सावधानी अपनाउनुपर्छ ।

कलेजोका लागि जोखिम
यदि तपाईं नियमित रूपमा मादक पदार्थ सेवन गर्नुहुन्छ वा तपाईंको कलेजोमा पहिलेदेखि नै सूजनको समस्या छ भने तरबूजबाट टाढा रहनु राम्रो हुन्छ । तरबूजमा पाइने लाइकोपीन, जुन सामान्यतया फाइदाजनक मानिन्छ, धेरै मात्रामा सेवन गर्दा कलेजोलाई हानि पुर्याउन सक्छ ।
एलर्जीको खतरा
कतिपयलाई तरबूजले एलर्जी निम्त्याउन सक्छ । यसका लक्षणहरूमा छालामा पित्ती उब्जिनु, अनुहारमा सूजन आउनु वा सास फेर्न गाह्रो हुनुजस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षणलाई बेवास्ता गर्नु खतरनाक हुन सक्छ ।
मधुमेह र तरबूज
तरबूजमा प्राकृतिक चिनी हुन्छ, तर यसको ग्लाइसेमिक इन्डेक्स उच्च हुन्छ । मधुमेहका बिरामीले तरबूज धेरै सोचेर र सीमित मात्रामा खानुपर्छ, नत्र रगतमा चिनीको मात्रा अचानक बढ्न सक्छ ।
पाचन सम्बन्धी समस्या
तरबूजमा फाइबर र पानीको मात्रा राम्रो हुन्छ, जसले पाचनमा सहयोग गर्छ । तर, धेरै मात्रामा खाँदा लाइकोपीनका कारण ग्यास, पखाला, छातीमा जलन वा सूजनजस्ता समस्याहरू निम्तिन सक्छन् ।