२०८२ असार १७ गते, मंगलवार ०७:३४

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूले देशलाई अगाडि बढाउने जिम्मेवारी लिनुपर्ने बताउँदै जन्मजात श्रेष्ठताको आधारमा शासन गर्न खोज्ने राजतन्त्रलाई देखिने र सुनिनेगरी अस्वीकार गर्नुपर्ने बताएका छन् । बिहीबार नेकपा (एमाले) ले आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा सम्बोधन गर्दै उनले राजतन्त्र पक्षधरहरूले हालै काठमाडौंमा विध्वंश मच्चाएर आफ्नो असली रूप देखाइसकेको टिप्पणी गरे ।

‘अब देशलाई तपाईंहरूले अगाडि बढाउनु पर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘जन्मजात श्रेष्ठता र कुल घरानाका आधारमा शासन गर्न खोज्ने पाखण्डी सिद्धान्तको कुनै वैज्ञानिक आधार छैन । सामन्ती युगलाई फर्काउने आवाजहरू कता-कता सुनिन थालेका छन् ।’ उनले थपे, ‘लोकतन्त्र र संविधान नमान्ने, जनताको बलिदान र संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र मजाक उडाउने काम भइरहेको छ । जनताको हत्या, तोडफोड, आगजानी र मिडियागृहमा आक्रमण गर्नेहरूले कस्तो शासन ल्याउन खोजेका छन् भन्ने प्रष्ट भइसकेको छ । अब युवाहरूले यस्ता कुरालाई देखिने र सुनिने गरी अस्वीकार गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘हामीले लोकतन्त्रको रक्षा गर्नुपर्छ, संविधानको सम्मान गर्नुपर्छ र देशलाई समृद्ध बनाउन युवाहरूको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस