२०८२ असार १७ गते, मंगलवार ००:४०

काठमाडौं –

जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि उत्पन्न तनावका बीच पाकिस्तानले भारतसँगको सम्पूर्ण व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गर्ने कठोर निर्णय लिएको छ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू तत्काल प्रभावबाट निलम्बन गरिएको उल्लेख छ। यो कदम भारतले बुधबार सिन्धु जलसन्धि निलम्बन गर्ने र अन्य कूटनीतिक कदमहरू चालेको प्रतिक्रियास्वरूप आएको हो।

मंगलबार पहलगाममा भएको आतंकवादी आक्रमणमा २४ पर्यटकसहित २६ जनाको ज्यान गएको थियो। भारतले उक्त आक्रमणमा पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरूको हात रहेको आरोप लगाउँदै सिन्धु जलसन्धि स्थगित गर्ने, सार्क भिसा छुट योजनाअन्तर्गत पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिने र पाकिस्तानी दूतावासका सैन्य कूटनीतिज्ञलाई अवाञ्छित घोषित गर्ने निर्णय गरेको थियो।

पाकिस्तानले भारतको यी कदमहरूलाई अस्वीकार गर्दै सिन्धु जलसन्धिको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य’ मान्ने चेतावनी दिएको छ। प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन्।”

जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध कडा कदमहरू चालेको छ। उसले भारतीय स्वामित्व वा सञ्चालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ, भारतसँगको सम्पूर्ण व्यापार निलम्बन गरेको छ र वाघा सीमा पूर्ण रूपमा बन्द गरेको छ। यस्तै, सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा रद्द गर्दै ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ। साथै, इस्लामाबादस्थित भारतीय उच्चायोगका रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलसम्म पाकिस्तान छोड्न निर्देशन दिएको छ।

पाकिस्तानले पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने भारतको प्रयासलाई ‘प्रमाणविना’ र ‘अन्यायपूर्ण’ भन्दै खण्डन गरेको छ। उसले भारतका कदमहरूलाई ‘एकपक्षीय, राजनीतिक रूपमा प्रेरित र कानुनी आधारविहीन’ भनेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समितिको बैठकले यी कदमहरू चालेको थियो। बैठकमा आक्रमणको सीमापार सम्बन्ध रहेको ब्रिफिङ भएको र दोषीहरूलाई न्यायको कठघरामा ल्याउने संकल्प गरिएको भारतीय विदेश सचिव विक्रम मिस्रीले बताएका छन्।

यी परस्पर कदमहरूले भारत र पाकिस्तानबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ। दुवै देशले एकअर्कालाई आतंकवादलाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्धलाई न्यून स्तरमा झारेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस