२०८२ असार १७ गते, मंगलवार ०४:२९

कैलाली –

धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण कार्य शुरू भएको छ। धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार गोदावरी नगरपालिका–८ मा बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ मा रहेको सुकुटी खोलामाथि पक्की पुल निर्माणको काम अघि बढिरहेको छ।

पुल निर्माणका लागि गत पुसमा ३ करोड १५ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। हाल जोनापुर खोलाको पुल ५० प्रतिशत सम्पन्न भइसकेको छ भने सुकुटी खोलामा पिलर निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

आयोजना कार्यालयका अनुसार यो खण्डमा १३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ट्रयाक खोलिएको थियो। पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले–धनगढी १० किलोमिटर सडकको सर्भे गरिएको थियो।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्टट्रयाक छोटो दूरी र अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। तर, सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यमा ढिलाइ भएको आयोजना कार्यालयको भनाइ छ। यो द्रुतमार्ग पूर्ण भएपछि सुदूरपश्चिम प्रदेशको यातायात, व्यापार र आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस