२०८२ असार १७ गते, मंगलवार ००:५३

काठमाडौं

काठमाडौंको सुन्धारास्थित आकाशे पुल मुनि एक सर्वसाधारणमाथि कुटपिट गरेको अभियोगमा चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन्। सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा कुटपिटको भिडियो भाइरल भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनामा संलग्न चार प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले घटनाबारे जानकारी दिँदै भने, “सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको भिडियो आएपछि हामीले तत्काल खोजीनीति गर्‍यौं। प्रारम्भिक अनुसन्धानमा उक्त कार्यमा संलग्न चार जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइएको छ। घटनाको विस्तृत छानबिन र अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार उक्त घटना गत मंसिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको हो। भिडियोमा ट्राफिक प्रहरीहरूले एक पुरुष व्यक्तिमाथि कुटपिट र दुर्व्यवहार गरेको देखिएको छ। यो भिडियो वैशाख ११ गते सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता गिरीले बताए।

“उक्त घटनाले ट्राफिक प्रहरीको छविमा गम्भीर प्रश्न उठाएको छ। दोषीमाथि कुनै सम्झौता नगरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ,” गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कारबाहीमा परेका चार प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट हटाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ। घटनाको कारण, परिस्थिति, र संलग्न प्रहरीको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोले सर्वसाधारणमाझ प्रहरीप्रति आक्रोश बढाएको छ। धेरैले प्रहरीको यस्तो व्यवहारले सार्वजनिक विश्वास गुम्ने भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस