२०८२ असार १७ गते, मंगलवार ०१:३७

काठमाडौँ –

सामाजिक सञ्जालमा भाइरल भएको ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो एक वर्ष पुरानो भएको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुसन्धानले भिडियोमा देखिएको सहायक हवलदारले मोटरसाइकल चालकलाई लखेटेर कुटपिट गरेको घटना २०८० सालको भएको पुष्टि गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिपक गिरीले रातोपाटीलाई दिएको जानकारीअनुसार भिडियोमा देखिएका सहायक हवलदार सोह्रखुट्टेमा कार्यरत रहँदा उक्त कुटपिटको घटना भएको थियो। “भिडियोमा देखिएका प्रहरी कर्मचारी १३ महिनाअघि यहाँबाट सरुवा भएर काठमाडौँ बाहिर गएका छन्,” एसपी गिरीले भने।

भिडियोको पृष्ठभूमि

सामाजिक सञ्जालमार्फत हालै सार्वजनिक भएको उक्त भिडियोमा एक ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई लखेटेर कुटपिट गरेको दृश्य देखिन्छ। यो भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको थियो। तर, अनुसन्धानले यो भिडियो हालको नभई २०८० सालको भएको पुष्टि गरेपछि कार्यालयले घटनाको समय र सन्दर्भ स्पष्ट गरेको छ।

एसपी गिरीका अनुसार कुटपिटमा संलग्न सहायक हवलदार २०८० चैतमा काठमाडौँबाट सरुवा भई अन्यत्र गएका थिए। उनले थपे, “यो भिडियो अहिलेको हो भन्ने भ्रम फैलिएको छ, तर हाम्रो अनुसन्धानले यो पुरानो घटना भएको देखाएको छ।”

हालैको अर्को घटना र कारबाही

यसअघि,एक पुरुषमाथि कुटपिट र दुर्व्यवहार गरेको अर्को भिडियो सार्वजनिक भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर छानबिन शुरू गरेको थियो। उक्त घटनामा संलग्न ट्राफिक प्रहरीहरूलाई जनसेवाको जिम्मेवारीबाट हटाइएको र अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले बताएका थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस