काठमाडौँ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोधी नभएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताउनु भयो । उहाँले विश्वमा धेरै सम्पन्न देशहरुमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताउनु भयो । उहाँले राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गर्नुभयो ।
उहाँले लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुलाई निरंकुश व्यवहार गर्ने ठूला राजनीतिक दलहरु कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गर्नुभयो । अध्यक्ष लिङदेनले सरकारले ल्याउने बजेट वर्तमान अवस्थाको अर्थतन्त्रलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनु भयो ।