२०८२ असार १७ गते, मंगलवार ०१:३६

वीरगन्ज –

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी चिकित्सकसरह निर्वाह भत्ता दिनुपर्ने माग राख्दै नेपाल चिकित्सक सङ्घको आह्वानमा डाक्टरहरू शुक्रबारदेखि अनिश्चितकालीन हड्तालमा उत्रिएपछि वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरू अलपत्र परेका छन्। अस्पताल र निजी क्लिनिकहरू बन्द हुँदा बिरामीहरू डाक्टर नभेटेर भौतारिन बाध्य भएका छन्।

शुक्रबार बिहान साढे ११ बजे नारायणी अस्पताल पुग्दा बिरामीहरू डाक्टर खोज्दै निराश देखिन्थे। वीरगन्ज–२६, अठराहका नेमिलाल साहले आफ्नो नातिलाई पखाला लागेपछि उपचारका लागि अस्पताल आएको तर डाक्टर नभेटिएको गुनासो गरे। उनले भने, “निजी क्लिनिक पनि बन्द छन्। अब कहाँ लाने? मेरो दिमागले काम गरिरहेको छैन।” उपचार सेवा बहिष्कार गरेर हड्ताल गर्नु जायज नभएको उनको भनाइ छ।

यस्तै, पर्साको पोखरिया नगरपालिका–६ का सुमित कुमार गुप्ताले श्रीमतीको उपचारका लागि बिहीबार रगत, पिसाब र एक्स–रे जाँच गराएर शुक्रबार रिपोर्ट लिएर आए पनि डाक्टर नभेटिएको दुखेसो पोखे। उनले भने, “अब म कहाँ जाने? कसलाई देखाउने यो रिपोर्ट?”

पर्साको सन्ठी गाउँका दलित युवा वीरेन्द्र रामलाई अकस्मात् खुट्टामा प्यारालाइसिसको समस्या देखिएपछि अस्पताल पुगेका थिए। तर, डाक्टरहरू हड्तालमा रहेको थाहा पाए पनि कुनै डाक्टर भेटिन्छन् कि भनेर उनी बहिरङ्ग सेवा भवनअगाडि कुरेर बसे। उनले भने, “म गरिब छु, निजी अस्पतालमा जान सक्दिनँ। तैपनि आशा लिएर कुरिरहेको छु।”

भारतको बिहार, घोडासहनका प्रमोद चौधरी पेटको रोगको उपचारका लागि नारायणी अस्पतालको सेवा राम्रो सुनेर आएका थिए। तर, डाक्टर नभेटिएपछि आक्रोशित हुँदै उनले भने, “हड्ताल गर्नुअघि मिडिया वा सोसल मिडियामार्फत जानकारी दिएको भए टाढाबाट आएका हामीले यति दुख पाउने थिएनौँ। डाक्टरहरूको यो पारा ठीक भएन।”

नारायणी अस्पतालले पर्सा, बारा, रौतहट, सर्लाहीसहितका चार जिल्ला र भारतको बिहारबाट दैनिक ९०० देखि १,००० बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिने गर्छन्। तर, शुक्रबारदेखि डाक्टरहरू हड्तालमा उत्रिएपछि सयौँ बिरामी उपचार नपाएर फर्किन बाध्य भए।

अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले ओपीडीलगायतका सेवा बन्द भए पनि आकस्मिक सेवा भने सुचारु रहेको बताए। उनले भने, “साह्रै समस्यामा परेका बिरामीलाई इमर्जेन्सी वार्डमा बोलाएर उपचार गरिरहेका छौँ।”

डा. सिंहले चिकित्सकहरू रहरले नभई बाध्यताले हड्तालमा उत्रिएको बताए। उनले भने, “बिरामी फर्किएको देख्दा हामीलाई पनि पिडा हुन्छ। तर, सरकार र मन्त्रीहरू अनुदार भएकाले हाम्रा हकअधिकारका लागि हड्ताल गर्नुपरेको हो।”

हड्तालको कारण

चिकित्सा शिक्षा आयोगले २५ माघमा निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी चिकित्सकसरह मासिक ४८,००० रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो। तर, साढे दुई महिना बितिसक्दा पनि निजी मेडिकल कलेजहरूले यो निर्णय कार्यान्वयन गरेका छैनन्। हाल आवासीय चिकित्सकहरूले मासिक १९,८०० रुपैयाँ मात्रै पाइरहेका छन्। सरकारी अस्पतालका आवासीय चिकित्सकले भने ४८,००० रुपैयाँ पाउँछन्। यो असमानताको विरोधमा तीन हप्तादेखि आवासीय चिकित्सकहरू सडक आन्दोलनमा छन्।

नेपाल चिकित्सक सङ्घले सरकार र निजी मेडिकल कलेज सञ्चालकहरूले माग सम्बोधन नगरे हड्ताल जारी रहने चेतावनी दिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस