काठमाडौं-
नेपाल शिक्षक महासंघ र सरकारबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ। वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले र महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा पदाधिकारी तथा आन्दोलनरत शिक्षकहरू सहभागी थिए।
बैठकपछि महासंघका अध्यक्ष सुवेदीले छलफल र वार्तालाई निरन्तरता दिने सहमति भएको बताए। “हामी आन्दोलनमा छौं। उठाएका विषयमा मन्त्रीको उपस्थितिमा छलफल भयो। संवादलाई निरन्तरता दिने निर्णय भएको छ,” उनले भने। अर्को बैठकको मिति भने टुंगो लाग्न बाँकी छ। सुवेदीले आन्दोलन र वार्ता सँगसँगै अघि बढ्ने उल्लेख गरे।
विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षा ऐनको मागमा कायम रहेको बताए। “शिक्षक र कर्मचारीको सेवा–सुविधा मात्र होइन, शिक्षा सुधारका लागि ऐनको माग गरेका हौं। सम्झौता होइन, ऐन चाहिन्छ,” उनले भने। उनले विद्यालय शिक्षा विधेयक संसद्मा आएपछि थप रणनीति बनाउने बताए।
शुक्रबार मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भई वार्तामा आउन र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए। “सरकार वार्ता र संवादबाट समाधान गर्न प्रतिबद्ध छ,” उनले भनेका थिए। सोही आग्रहपछि शनिबार शिक्षकहरू मन्त्रालय पुगेका थिए।
शिक्षकहरूले आफ्ना माग जायज भएको भन्दै सबै माग पूरा हुनुपर्ने अडान राखेका छन्। गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन्।
आन्दोलनका कारण शिक्षकहरूको अनुपस्थितिमा विद्यालयहरू प्रभावित भएका छन्। सरकार र शिक्षक महासंघबीचको संवादले निकास निस्कने अपेक्षा गरिएको छ।