२०८२ भाद्र १ गते, आईतवार २२:५८

काठमाडौं–

मौसम पूर्वानुमान महाशाखाले मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा आज पनि तातो लहर (हिट वेभ) को सम्भावना रहेको जनाएको छ। महाशाखाले विशेष बुलेटिन जारी गर्दै तातो लहरको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

केही दिनयता तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको र आज पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सुझाएको हो। तातो हावाले थकान, कमजोरी, तिर्खा, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

महाशाखाले गर्मीको समयमा घरभित्र चिसो ठाउँमा बस्न, चर्को घाममा बाहिर ननिस्कन, हल्का र सुतीको कपडा लगाउन, टोपी वा टाउको छोप्न, प्रशस्त पानी, जुस र सर्वत पिउन तथा स्वास्थ्य समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरेको छ।

यसैबीच, मौसमविद्हरूले भोलि आइतबार बेलुकीदेखि प्रिमनसुनी प्रणाली सक्रिय हुने र वर्षा हुने अनुमान गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका मौसमविद् विनोद पोखरेलका अनुसार आइतबार र सोमबार देशको पूर्वी र मध्य भेगमा वर्षा हुने सम्भावना छ। सोमबार पूर्वदेखि पश्चिम चितवन र लुम्बिनीसम्म पानी पर्ने र काठमाडौं उपत्यकामा समेत वर्षा हुने उनले बताए। यो वर्षाले बढ्दो तापक्रम नियन्त्रणमा सहयोग पुग्ने मौसमविद्को अनुमान छ।

गर्मीबाट बच्न र स्वास्थ्य सुरक्षित राख्न महाशाखाले सबैलाई सतर्क रहन अपिल गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस