२०८२ असार १७ गते, मंगलवार ०४:४४

वीरगन्ज  –

मनोज ग्यास उद्योग प्रा.लि.बाट उत्पादित ग्यास सिलिन्डरमा ४ किलो तौल कम भएको भेटिएको छ।

वीरगन्जको रानीघाट वडा नम्बर ९ का बासिन्दा नगीना साहले खरिद गरेको मनोज ग्यास सिलिन्डरमा तौल कम भएको पाइएको हो।

रानीघाटमा होटल व्यवसाय गर्दै आएका नगीना साहले वर्षौंदेखि मनोज ग्यासको ग्राहक रहेको बताए। तर, पछिल्लो केही महिनादेखि उनले प्रयोग गर्दै आएको ग्यास सिलिन्डर अपेक्षित समयभन्दा पहिले नै सकिन थालेपछि शंका लागेर शनिबार खरिद गरेको सिलिन्डरको तौल जाँच्दा ४ किलो ग्यास कम भएको पत्ता लाग्यो। नगीना साहले रानीघाटका डिलर गेनालाल साहसँग ग्यास खरिद गरेको र यो विषयमा उनलाई जानकारी गराइसकेको बताए।

मनोज ग्यासका आधिकारिक डिलरको रूपमा १५ वर्षदेखि काम गर्दै आएका बिनयलाल साहले सिलिन्डरमा सिल बन्द भएको र त्यसमा कुनै हेरफेर नभएको दाबी गरे। उनले गत हप्ता ४० थान सिलिन्डर मगाएको र तीमध्ये यो सिलिन्डर पनि परेको बताए। तौल कसरी कम भयो भन्ने विषयमा कम्पनीले नै जवाफ दिनुपर्ने उनको भनाइ छ। उनले आफ्नो तर्फबाट कुनै बदमासी नभएको जिकिर गरे।

सामान्यतया उपभोक्ताहरूले ग्यास सिलिन्डर खरिद गर्दा नापतौल नगरी कम्पनीको विश्वासमा रकम तिरेर सिलिन्डर लाने गर्छन्। तर, मनोज ग्यास जस्तो संस्थाले उपभोक्ताको विश्वासमाथि खेलबाड गर्दै ठगी गरेको भन्दै स्थानीय साजन सिंह राजपुतले सम्बन्धित निकायले तत्काल आवश्यक कारबाही अगाडि बढाउनुपर्ने माग गरे।

यस घटनाले उपभोक्ताहरूमाझ ग्यास सिलिन्डरको गुणस्तर र तौलप्रति गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले यो विषयमा छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस