२०८२ असार १७ गते, मंगलवार ०१:२६

काठमाडौँ-

आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपको क्रममा घाइते हुनुभएकी पत्रकार सविना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । सोही समयमा समाचार सङ्कलनको लागि पुग्नुभएकी प्राइम टाइम्स टेलिभिजनकी पत्रकार कार्की घाइते हुनुभएको हो ।

उहाँलाई प्रहरीले अस्पताल पु¥याएको थियो । चोटको कारणले कार्कीको दुवै आँखाको लेन्सहरू सुन्निएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । घाइते कार्कीले समाचार सङ्कलनको क्रममा पानीको फोहोराले एक्कासी अनुहारमा लागेको बताउनुभएको छ । उहाँले आफू ढलेपछि एक शिक्षिकाले प्रहरीलाई खबर गरेपछि प्रहरीले उपचारको लागि अस्पताल पु¥याएको बताउनुभयो । उहाँले बायाँ आँखाले केही हदसम्म हेर्न मिले पनि दायाँ आँखा खोल्नै नमिलेको बताउनु भयो । उपचारमा संलग्न डा। सिभान्त श्रेष्ठकाअनुसार आँखाभित्र रगत जमेको कारणले भिजन एकदमै कम रहेको हो ।

चोटको कारण आँखाको प्रेसर पनि बढेको उहाँले बताउनु भयो । घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेको थियो । पत्रकार महासङ्घले पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको बताएको छ । महासङ्घले घाइते पत्रकार कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस