काठमाडौं-
लघुवित्त, सहकारी र मिटरब्याजी पीडितहरूले सरकारले आफूहरूको शान्तिपूर्ण मागलाई बेवास्ता गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । वर्षौंदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनको सुनुवाइ नभएको र सरकारले यसअघि गरेका सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै पीडितहरूले यस्तो कदम चालेका हुन्।
प्रदर्शनकारीहरूले सरकारले आफूहरूसँग गरेका सात र आठ बुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन्। उनीहरूले ‘वित्तीय शोषणको अन्त्य गर’, ‘बचत फिर्ता गर’ र ‘सरकार जवाफदेही बन’ जस्ता नारा लगाउँदै माइतीघरबाट बानेश्वरसम्म र्याली निकालेका थिए। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा भएको यो प्रदर्शनमा करिब चार सय जनाको सहभागिता रहेको बताइएको छ।

“हामीले वर्षौंदेखि शान्तिपूर्ण रूपमा आफ्नो बचत फिर्ताको माग राख्दै आएका छौं, तर सरकारले हामीलाई बेवास्ता गरिरहेको छ। सहमति गरेर पनि कार्यान्वयन नगर्ने सरकारको रवैयाले हामी बाध्य भएर अर्धनग्न प्रदर्शन गर्नुपर्यो,” सहकारी पीडित सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले भने।
पीडितहरूले लघुवित्त र मिटरब्याजीले ऋण मिनाह गर्नुपर्ने, किसानहरूलाई बिनाधितो ऋण उपलब्ध गराउनुपर्ने र सहकारीबाट अपचलन भएको रकम फिर्ता गर्नुपर्ने माग राखेका छन्। साथै, उनीहरूले समस्याग्रस्त सहकारीहरूको अनुगमन र नियमनका लागि स्वतन्त्र नियामक निकाय गठन गर्न सरकारसँग जोडदार माग गरेका छन्।
यसअघि सरकारले सहकारी पीडितहरूसँग गत चैतमा आठ बुँदे र त्यसअघि सात बुँदे सहमति गरेको थियो। तर, ती सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै पीडितहरूले पुनः सडक आन्दोलनलाई तीव्र बनाएका छन्। प्रदर्शनकारीहरूले माइतीघरमा अनिश्चितकालीन धर्ना र रिले अनशनको तयारी गरेको बताएका छन्।
“हाम्रो माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन। सरकारले हामीलाई न्याय दिनुपर्छ,” लघुवित्त पीडितका एक अगुवा मनिराम ज्ञवालीले भने। उनीहरूले सरकारले गम्भीरतापूर्वक कदम नचाले देशव्यापी आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।
प्रदर्शनका क्रममा प्रहरीले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरे पनि प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा आफ्ना माग राखेका थिए। यता, सरकारले भने पीडितका माग सम्बोधन गर्न छलफल भइरहेको जनाएको छ, तर ठोस कार्ययोजना भने सार्वजनिक भएको छैन।