काठमाडौं-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका-६ मा कृषि बाटो निर्माणमा भ्रष्टाचार भएको भन्दै ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०८०/०८१ मा भएको उक्त योजनामा अनियमितता गरी ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिना गरेको अख्तियारको ठहर छ।
अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, वडा नम्बर ६ का अध्यक्ष श्यामबाबुर साह, पालिकाका इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौं मोहम्मद रिफक, सबइन्जिनियर शशिरञ्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीय कुमारीलाई प्रतिवादी बनाएको छ।

अख्तियारका अनुसार, उक्त कृषि बाटो निर्माण योजनामा प्राविधिक इष्टिमेट र सम्झौताको शर्तविपरीत काम भएको छ। फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको देखाई नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुटा बिल भरपाई तयार गरी ७ लाख ७९ हजार २०५ रुपैयाँ भुक्तानी दिएको पुष्टि भएको छ। यस्तो मिलेमतोबाट रकम हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ।
आयोगले प्रतिवादीहरूविरुद्ध जनही ७ लाख ७९ हजार २०५ रुपैयाँ बिगो मागदाबी गर्दै कैद सजायको माग गरेको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ।