काठमाडौं-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एकजुट भएमा केही महिनाभित्रै राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्न सकिने दाबी गरेका छन्। सोमबार काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन्।
अध्यक्ष थापाले अहिलेको समय राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि अनुकूल रहेको बताए। उनले देशको राजनीति वैचारिक रूपमा राजसंस्था र गणतन्त्र पक्षधरहरू गरी दुई कित्तामा स्पष्ट रूपमा विभाजित भएको उल्लेख गरे। “हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ। केही हप्ता, केही महिनाभित्रै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ,” उनले भने।

थापाले सबै स्वार्थभन्दा माथि उठेर राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा लाग्न आह्वान गरे। उनले नयाँ ढंगले शसक्त अभियान सञ्चालन हुने घोषणा गर्दै गणतन्त्र पक्षधर नेताहरूलाई एकजुट राजसंस्था पक्षधरहरूले सोच्न बाध्य बनाउने चेतावनी दिए। “अहिले देश राजासहितको प्रजातन्त्र र गणतन्त्र भन्ने दुई कित्तामा बाँडिएको छ। सरकारले जनतालाई भ्रममा राख्ने षड्यन्त्र गरेको छ, तर जनता त्रसित हुने अवस्थामा छैनन्,” उनले थपे।
अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दो जनमतबाट त्रसित भएर गणतन्त्रवादी दलहरू र सरकारले राजसंस्थाको बदनाम गराउने प्रयास गरेको आरोप लगाए। उनले सरकारको यस्तो प्रयासलाई जनताले प्रष्ट बुझेको दाबी गरे। “हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको अभियान अब चाँडै नयाँ र शसक्त रूपमा अगाडि बढ्नेछ,” उनले भने।
कार्यक्रममा राप्रपा नेपालका नेता कार्यकर्ताहरूले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा नाराबाजी गरेका थिए। थापाले आगामी दिनमा देशव्यापी अभियान सञ्चालन गरी जनमतलाई थप सुदृढ गर्ने योजना रहेको बताए।