काठमाडौं-
नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सरकारले शिक्षकमाथि गरेको बर्बरता निन्दनीय र घृणित भएको भन्दै यस्ता कार्य काँग्रेसले कदापि सहन नसक्ने बताएका छन्। सोमबार काठमाडौंमा विपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरे।
सांसद कोइरालाले आइतबार सरकारले शिक्षकहरूमाथि गरेको दमनलाई अस्वीकार्य बताए। “शिक्षकमाथि भएको यो बर्बरता निन्दनीय मात्र होइन, घृणित छ। यस्ता कार्यहरू नेपाली काँग्रेसले सहन सक्दैन,” उनले भने।

उनले सत्तारूढ गठबन्धनमा रहेका काँग्रेसका मन्त्रीहरूलाई आफूले केही नभन्ने बताउँदै सरकार बाहिर रहेकाहरूले सरकारका गलत कार्य र कमीकमजोरीहरूलाई निर्भीकतापूर्वक औंल्याउनुपर्नेमा जोड दिए। “हामीले सरकारका गलत कामविरुद्ध बोल्ने आँट गर्नुपर्छ। म कार्यकर्ताहरूलाई त्यसका लागि सधैं शाहस दिनेछु,” उनले भने।
कार्यक्रममा कोइरालाले विपी कोइरालाको समाजवादी चिन्तन अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। उनले स्थानीय सरकारलाई बलियो बनाउँदै विपीको समाजवादी दृष्टिकोणलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए।
गोष्ठीमा सहभागी वक्ताहरूले विपीको समाजवादी विचारधारा र त्यसको आधुनिक नेपालमा कार्यान्वयनका सम्भावनाबारे चर्चा गरेका थिए।