२०८२ असार १७ गते, मंगलवार १२:२४

काठमाण्डौ –

स्वीडेनको उपसाला सहरमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गोलीबारी सहरको मध्यभागमा रहेको वाक्सला स्क्वेयर नजिकैको एक कपाल काट्ने सैलुनमा भएको हो । प्रत्यक्षदर्शीका अनुसार गोली प्रहार गर्ने व्यक्ति स्कूटर चढेर भागेको छ । प्रहरीले संदिग्धको खोजी तीव्र बनाएको छ र छानबिन जारी राखेको छ ।

यो घटना वालपुर्गिस स्प्रिङ फेस्टिभलको पूर्वसन्ध्यामा भएको हो, जुन समयमा उपसाला सहरमा निकै भीड हुन्छ । “सबै कुरा यति छिटो भयो कि धड्याम-धड्याम मात्रै सुनियो,” एक प्रत्यक्षदर्शीले स्वीडिश च्यानल टीभीफोरलाई बताए । अर्का एक व्यक्तिले घरमा खाना बनाइरहेको बेला गोलीको आवाज सुन्दा पटका पड्किएको होला भन्ने ठानेको, तर सडकमा प्रहरी र एम्बुलेन्सको ताँती देखेपछि डराएको बताए ।

प्रहरीका अनुसार एक पीडितमाथि गिरोहको नेताका आफन्तविरुद्ध आक्रमणको षडयन्त्र रचेको आशंकामा छानबिन भइरहेको छ । हालैका वर्षहरूमा स्वीडेनमा गोलीबारी र ग्याङ्ग हमला बढ्दै गएको छ, जसका कारण सरकारले बन्दुकसम्बन्धी कानुनलाई कडा गर्ने बताएको छ ।

संदिग्धलाई पक्रन प्रहरीले हेलिकप्टरको प्रयोग गरिरहेको छ भने भाग्न नदिन घटनास्थल वरपरको रेल सेवा ठप्प पारिएको छ । प्रहरीले प्रत्यक्षदर्शीहरूबाट थप जानकारी संकलन गर्न आसपासका घरहरूमा सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस