काठमाडौँ –
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताउनुभएको छ ।
मे दिवसको अवसरमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले संसारका अरू देशमा सबैभन्दा ठूलो सरकारमा र दोस्रो ठूलो पाटी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसदका दुवै ठूला राजनीतिक दल सरकारमा बसेको जिकिर गर्नुभयो । उहाँले संविधान संशोधन गर्ने भन्दै नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गर्नुभयो ।
उहाँले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गर्नुभयो । उहाँले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्ने आवश्यकता पर्ने भएपनि नेपालमा त्यो हुन नसकेको बताउनु भयो । अध्यक्ष नेपालले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन नसकेको धारणा राख्नुभयो ।
उहाँले संविधानमा लेखिएका जनताका हक तथा अधिकारलाई व्यवहारमा लागू गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरिएको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले नेपालमा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताउनु भयो । उहाँले इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न आग्रह समेत गर्नुभयो । केही दिनअघि राजसंस्थालाई फर्काउन केही मान्छेहरूले कोशिस गरेको बताउँदै उनीहरूले हिंसात्मक र आफूहरूको वास्तविक रूप देखाएको जिकिर गर्नुभयो ।
उहाँले सोही दिन एकीकृत समाजवादी सहभागी समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको दाबी गर्दै त्यसले जनतामा उत्साह र सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो । उहाँले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडी बढाउने र भएका कमी,कमजोरीहरूलाई सुधार गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिनुभयो ।