२०८२ भाद्र ५ गते, बिहीबार ०३:४८

वीरगन्ज-

जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ८, पानीटंकीमा अवस्थित नयाँ कार्यालयको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो।

सोही अवसरमा जसपा नेपालको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समिति र वीरगन्ज महानगर समितिका पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम पनि आयोजना गरिएको थियो। जिल्ला समितिका अध्यक्ष रामनरेश प्रसाद यादव, वीरगन्ज महानगर समितिका अध्यक्ष घनश्याम बाबू गुप्तालगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूले सपथ लिएका छन्।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले पार्टीको संगठनलाई थप सशक्त बनाउन नेता र कार्यकर्ताहरूलाई निर्देशन दिए। उनले इमान्दारीपूर्वक संगठन निर्माणमा जुट्न र पार्टीको विचार, सिद्धान्तलाई जनताको घर–घरमा पुर्‍याउन आग्रह गरे। “पार्टीको विचार र सिद्धान्तलाई जनतामाझ पुर्‍याउन सकियो भने जसपा नेपाल २०७४ को अवस्थामा फर्किनेछ,” महासचिव राउतले भने।

 

उद्घाटन र सपथ ग्रहण समारोहमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। नयाँ कार्यालयले पर्सा जिल्लामा जसपाको संगठन विस्तार र गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस