२०८२ असार १७ गते, मंगलवार ००:५०

पर्सा-

नेपाल–भारत सीमाक्षेत्रमा आवतजावतका लागि परिचयपत्र अनिवार्य गरिएको भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिएका हल्लाहरू निराधार रहेको पुष्टि भएको छ। बिहीबार बिहानैदेखि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्ता समाचार फैलिए पनि यसको कुनै आधिकारिक पुष्टि नहुँदा दुवै देशका नागरिकहरू अन्योलमा परेका छन्।

रक्सौल पुगेर फर्किएका नेपाली र नेपाल प्रवेश गर्ने भारतीयहरूले सीमाक्षेत्रमा दैनिक गरिने नियमित सुरक्षा जाँचबाहेक कुनै पनि परिचयपत्र माग नभएको बताएका छन्। नेपालतर्फ पनि सशस्त्र प्रहरीले नियमित जाँचबाहेक कुनै कागजात माग गरेको छैन। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपालको सशस्त्र प्रहरी बलको संयुक्त बैठकमा सीमाक्षेत्रमा निगरानीलाई प्रभावकारी बनाउने सहमति भए पनि परिचयपत्र अनिवार्य गर्ने कुनै औपचारिक निर्णय नभएको स्पष्ट भएको छ।

भारतको काश्मिरस्थित पहलगाममा हालै भएको आतङ्कवादी हमलापछि दुवै देशका सुरक्षा निकायले सीमाक्षेत्रमा निगरानी र नियमित जाँचलाई कडा बनाएका छन्। नेपालतर्फ प्रहरीले ‘स्पेशल डग’ सहितको सुरक्षा जाँच पहिलेदेखि नै गरिरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले भारतीय सुरक्षा अधिकारीहरूसँगको नियमित छलफल र समन्वयमा सीमाक्षेत्रमा थप सुरक्षा कडाइ गरिएको बताउनुभयो। तर, परिचयपत्र अनिवार्य गर्ने कुनै नियम नभएको उहाँले स्पष्ट गर्नुभयो।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास स्रोतले पनि यस विषयमा कुनै औपचारिक बैठक नभएको र आधिकारिक जानकारी नआएको जनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि बिहानैदेखि फैलिएका समाचार र सामाजिक सञ्जालका हल्लाहरू सत्य नरहेको बताउनुभयो। “हल्लैहल्लाले सामाजिक सञ्जाल र समाचारमा यस्ता कुरा आएका छन्, तर यो आधिकारिक रूपमा पुष्टि भएको छैन,” उहाँले भन्नुभयो।

सीमाक्षेत्रमा नियमित सुरक्षा जाँच र निगरानीलाई प्रभावकारी बनाइएको भए पनि परिचयपत्र अनिवार्य गर्ने नियम लागू नभएको स्पष्ट भएपछि स्थानीयमा देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस