२०८२ असार १६ गते, सोमबार २२:२१

काठमाडौं-

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो हारसँगै राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ। जयपुरको सवाइ मानसिंह स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान १६.१ ओभरमा ११७ रनमै अलआउट भयो।

मुम्बईका लागि ओपनर रयान रिकेल्टोनले सर्वाधिक ६१ रन बनाए। उनले ३८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर रोहित शर्माले ५३ रन जोड्दै पहिलो विकेटका लागि ११६ रनको शतकीय साझेदारी गरे। सूर्यकुमार यादव र कप्तान हार्दिक पाण्ड्या समान ४८-४८ रनमा अविजित रहे। राजस्थानका लागि महेश थेक्साना र रियान परागले १-१ विकेट लिए।

राजस्थानको ब्याटिङमा जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाए। यशस्वी जैसवालले १३, कप्तान रियान परागले १६, ध्रुव जुरेलले ११ र शिवम दुबेले १५ रन जोडे। अघिल्लो खेलमा शतक बनाएका १४ वर्षीय वैभव सूर्यवंशी भने शून्यमा आउट भए। मुम्बईका लागि ट्रेन्ट बोल्ड र कर्न शर्माले ३-३ विकेट लिए भने जसप्रित बुमराहले २, दीपक चहार र हार्दिक पाण्ड्याले १-१ विकेट हात पारे।

यो जितसँगै मुम्बई इन्डियन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ११ खेलमा ७ जित र ४ हारसहित १४ अंक जोडेको मुम्बईले नेट रनरेटमा आरसीबीलाई उछिनेको छ। यता, ११ खेलमा मात्र ३ जितसहित ६ अंक भएको राजस्थान आठौं स्थानमा छ र प्लेअफबाट बाहिरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस