काठमाडौं-
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरित गृह ग्यास, उत्सर्जनमा नेपालको भुमिका नगण्य रहेको भएपनि यसबाट बढी प्रभावित हुने मुलुकमा नेपाल रहेको बताउनु भयो । उहाँले मुलुकको कुल भूभागको करिव ४५ प्रतिशत जमिन वन क्षेत्रले ढाकेको र कुल भूभागको करिव २३ प्रतिशत जमिन संरक्षित क्षेत्रले ओगटेको बताउँदै वनको संरक्षणबाट वातावरण शुद्धिकरण गर्न र जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न सघाउ पुग्नुका साथै वातावरण बिगार्ने हानिकारक कार्बनलाई शोषण गर्न समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्ने हिमालय पग्लिँदै जाने हो भने यसले धेरैको जनजीवनमा गम्भीर प्रभाव पर्ने बताउनु भयो । उहाँले हिमाल जोगाउन साझा प्रयास जुटाउनुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय जलवायु वित्त कोषमा नेपालको पहुँच बढाइ देशभित्र जलवायु परिवर्तन अनुकुलन र न्युनिकरण तथा वातावरण संरक्षण कार्यका लागि श्रोत जुटाउने पहलको खाँचो रहेको बताउनु भयो ।
उपराष्ट्रपति यादवले नेपाल जस्तो संवेदनशील भौगर्भिक धरातल भएको मुलुकमा जलवायु परिवर्तनले सिजर्ना गरेका समस्या र चुनौतिहरु अरु देशको तुलनामा उच्च रहेको बताउनु भयो । जलवायु परिवर्तनकै कारण तराई-मधेस क्षेत्रका पानीका श्रोतहरुको स्तर निकै तल पुगिसकेको बताउनु भयो ।