काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले हाइड्रोजन इनर्जी प्रयोग गरेर सवारी साधन सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालमा प्रशस्त विद्युत उत्पादन क्षमता विकास भएको र हाइड्रोजन इनर्जी उत्पादन तथा प्रयोगको सम्भावना रहेको उल्लेख गरे। “अस्ति म आफैं हाइड्रोजन ब्याट्रीबाट चलेको गाडीमा चढेर कार्यक्रममा गएको थिएँ। त्यो प्रयोगात्मक थियो। अब हामी हाइड्रोजन ऊर्जाबाट केही ठाउँमा गाडी र बसहरू चलाउन सक्छौं,” उनले भने। उनले यो प्रविधिको विस्तार सम्भव भएको र नेपाल त्यो अवस्थामा पुगिसकेको बताए।

उनले नेपालसँग जलविद्युत् मात्र नभई ग्रिन हाइड्रोजन इनर्जी उत्पादनको सम्भावना रहेको र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिका लागि आवश्यक विद्युत् उत्पादन गर्न सक्ने आधार तयार भएको बताए। “हामीसँग अब इलेक्ट्रिसिटी छ। तपाईंहरूले थप प्रविधि स्थापना गर्दा हामी थप विद्युत् उत्पादन गर्छौं। हामी एआईलाई चाहिने इलेक्ट्रिसिटी उपलब्ध गराउन सक्छौं,” ओलीले भने।
सो अवसरमा प्रधानमन्त्रीले सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे। उनले पूर्वाधार, सडक पहुँचलगायत संरचना सुदृढ बन्दै गएकाले नेपाल लगानीको उपयुक्त गन्तव्य बनेको दाबी गरे।