धरान-
सुनसरीमा प्रतिबन्धित लागू औषध गाँजाको तस्करी बढ्दो छ। सुनसरी प्रहरीले तस्करी नियन्त्रणमा सक्रियता देखाउँदै भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी गर्ने एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
शनिबार राति गोप्य सूचनाको आधारमा इटहरी, पकली र रामधुनीका प्रहरी कार्यालयबाट संयुक्त टोली परिचालन गरी राजमार्गका सबै सडक बन्द गरेर तस्करलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। रामधुनी नगरपालिका-६ पिडारीमा भारतीय एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा ६ वटा कालो बोरामा लुकाइएको १८० केजी गाँजा बरामद भएको उनले जानकारी दिए।

पक्राउ परेका एम्बुलेन्स चालक सुनसरीको वराहक्षेत्र नगरपालिका-४ का २५ वर्षीय श्रीराजकुमार साहलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी योगराज खतिवडाले बताए।
धनकुटामा उत्पादन हुने गाँजा तस्करहरूले एम्बुलेन्स, निजी गाडी र मालबाहक ट्रकमार्फत सुनसरीको बाटो हुँदै भारततर्फ लैजाने गरेका छन्। प्रहरीले भरियाहरूलाई पक्राउ गरे पनि मुख्य योजनाकारलाई पक्राउ गर्न सकेको छैन। पक्राउ परेका भरियाहरूको बयानका आधारमा मुख्य योजनाकारको पहिचान गरी मुद्दा चलाउने तयारी भइरहेको एसपी तिम्सिनाले बताए।
धनकुटाबाट खुलेआम सुनसरी आउने गाँजाको तस्करीमा धनकुटा प्रहरी भने मौन रहने गरेको छ।