वीरगन्ज—
नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माण ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर, नायब सुब्बा सुशीलप्रसाद यादव, लेखापाल सुदीपकुमार माझी, शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर सकुर अन्सारी, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान, सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक जगत बुढा र लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माण ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउने काममा ठेकेदारसँग मिलेमतो गरी एकमात्र प्रतिस्पर्धीलाई लक्षित ठेक्का सम्झौता गरिएको पाइएको छ। यसबाट नारायणी अस्पताललाई १ करोड ८४ लाख ३८ हजार रुपैयाँ हानि पुगेको अख्तियारको ठहर छ।
ठाकुर, साह, अन्सारी, यादव र माझीविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गरिएको प्रवक्ता पौडेलले बताए।