भैरहवा-
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सशस्त्र प्रहरीले सीमामा सुरक्षा नभई लूट मचाएको गम्भीर आरोप लगाएका छन् ।
रुपन्देहीको पिप्रा महजिदिया बजारमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले सीमाको रक्षा गर्ने सीमावर्ती क्षेत्रका नागरिकलाई नै सशस्त्र प्रहरीले लुट्ने काम गरेको बताए ।

“सीमाको रक्षा र सुरक्षा सीमावर्ती क्षेत्रका नागरिकले गरेका छन् । आफ्नो ज्यान जोखिममा राखेर सीमाको रक्षा गर्ने तिनै नागरिकलाई सशस्त्र प्रहरीले लुट्नु दुखद छ,” साहले भने, “किसानलाई सरकारले आवश्यक मलखाद उपलब्ध गराउँदैन । सीमावर्ती क्षेत्रका नागरिकले भारतबाट ल्याएको एक–दुई बोरा मलखाद खोस्ने र लुट्ने काम गरेर सशस्त्र प्रहरीले बहादुरी देखाउँछन् । कमिशनको लोभमा मलखाद खोस्नु सरकारको अपराध हो ।”
उनले सीमावर्ती क्षेत्रमा भन्सार छलीको नाममा लूट मचाउने कार्य बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । किसानलाई मलखाद उपलब्ध नगर्ने तर भारतबाट ल्याएको मलखाद कमिशनको लोभमा खोस्ने यो सरकारको अपराध भएको उनको भनाइ छ । मलखाद मात्र नभई घरायसी प्रयोगका लागि सीमावर्ती क्षेत्रका जनताले ल्याएका सामान खोस्ने र व्यक्तिगत सम्पत्ति लुट्ने काम वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको उनले आरोप लगाए ।
“कमिशनको नाममा सरकारी लूट मचाइएको छ । पुरस्कारको लोभमा सीमावर्ती क्षेत्रमा लूट मचाइएको छ । मन्त्रीदेखि आईजिपीसम्मले अदृश्य कमिशन लिइरहेका छन् । सीमामा प्रहरीले कुनै सामान पक्राउ गरेपछि त्यसबाट प्राप्त पुरस्कार पक्राउ गर्ने प्रहरीले पाउनुपर्ने होइन र ? तर तलदेखि माथिसम्म सबैले भागबण्डा गरिरहेका छन्,” साहले भने ।
आजपा उपाध्यक्ष डा. उसमानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आजपाका नेताहरू त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतको सहभागिता थियो ।