२०८२ असार १७ गते, मंगलवार ०१:१२

काठमाडौं –

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युको घटना दोहोरिएको भन्दै घटनाको गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको हो। समितिका सभापति अम्मर बहादुर थापाले बैठकले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन शिक्षा मन्त्रालयलाई सजगता अपनाउन समेत निर्देशन दिएको जानकारी दिए। “हामीले प्रिशा साहको मृत्युप्रति गहिरो दुख व्यक्त गरेका छौं र यो घटनाको सत्य तथ्य बाहिर ल्याउन सरकारलाई कडा निर्देशन दिएका छौं,” थापाले भने।

बैठकमा शिक्षामन्त्री रघुजी पन्तले सरकार यो घटनाप्रति अत्यन्त गम्भीर रहेको बताउँदै परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको जानकारी गराए। “हामीले नेपाली विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं र यो घटनाको छानबिनका लागि कूटनीतिक पहल भइरहेको छ,” मन्त्री पन्तले भने।

वीरगञ्ज निवासी प्रिशा साह बिहीबार साँझ केआईआईटीको अन्तर्राष्ट्रिय छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। यो घटना केआईआईटीमा नेपाली विद्यार्थीको दोस्रो रहस्यमय मृत्यु हो। यसअघि गत फागुनमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि यस्तै प्रकृतिको मृत्यु भएको थियो। यी घटनाले नेपाली विद्यार्थीको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

संसदीय समितिको यो निर्देशनपछि सरकारमाथि दबाब बढेको छ। समितिले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीति बनाउन समेत जोड दिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस