पर्सा –
भारतको जम्मु–कश्मीरबाट फरार मोस्ट वान्टेड अपराधी तथा खालिस्तानी नेता अमरजीत सिंहले नेपाली नागरिकता लिएर वीरगन्ज र काठमाडौंमा खुलेआम व्यापार सञ्चालन गरिरहेको खुलासा भएपछि नेपाल र भारत दुवै देशमा सनसनी फैलिएको छ। भारतीय सुरक्षाकर्मीको खोजी सूचीमा रहेका सिंहले नक्कली कागजातको प्रयोग गरी नेपाली नागरिकता प्राप्त गरेको रदत्ता फाइनान्सकोे नाउँमा जम्मु कश्मीरको जनताकोे धनराशी लुटेर अवैध धनको लगानीमा नेपालमा व्यवसाय सञ्चालन गरिरहेको स्रोतले दाबी गरेको छ।
खालिस्तानी अभियानमा सक्रिय सिंह
स्रोतका अनुसार, गरुबचन सिंहका छोरा अमरजीत सिंह खालिस्तानलाई छुट्टै देश बनाउने अभियानमा सक्रिय छन्। भारतीय सुरक्षा निकायले उनलाई सशस्त्र विद्रोह र आतंकवादी गतिविधिमा संलग्न रहेको पुष्टि गरेका छन्। भारतको क्राइम ब्रान्च (जम्मु) का अनुसार, सिंहले कश्मीरमा हजारौं व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेका छन्, जसका कारण उनलाई भारतीय प्रहरीले ठगी र आतंकवादी संगठनसँगको सम्बन्धको आधारमा मोस्ट वान्टेड सूचीमा राखेको छ। उनविरुद्ध जम्मुको गान्धीनगर थानामा समेत मुद्दा दर्ता भएको छ।
नक्कली कागजातद्वारा नेपाली नागरिकता
नेपाल प्रवेश गरेपछि सिंहले आफ्नो नाम र पहिचान परिवर्तन गरी नक्कली कागजातमार्फत नेपाली नागरिकता प्राप्त गरेको स्रोतको दाबी छ। त्यसपछि उनले वीरगन्ज र काठमाडौंमा अवैध रूपमा कमाएको ‘कालो धन’ लगानी गरी आलिशान महल निर्माण गर्नुका साथै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन्। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै उनले आफ्ना गतिविधिलाई लुकाउन सफल भएको बताइएको छ।
राजनीतिक पहुँच र भ्रष्टाचारको आड

स्रोतका अनुसार, सिंहले नेपालमा राजनीतिक पहुँच र भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा कानुनी दायराबाट उम्किँदै आएका छन्। उनको गतिविधि नियन्त्रण गर्न प्रहरी र सम्बन्धित निकायले कुनै ठोस कदम नचालेको भन्दै आलोचना भइरहेको छ। नेपालमा यस्ता गतिविधिहरूले देशलाई वित्तीय तथा सांगठनिक अपराधको ‘बफर जोन’ बनाउने खतरा बढेको विश्लेषकहरूको चेतावनी छ।

नेपाल–भारत सम्बन्धमा असर
अमरजीत सिंहजस्ता व्यक्तिहरूले नेपाली नागरिकता लिएर अवैध गतिविधिमा संलग्न हुनुले नेपाल–भारत सम्बन्धमा समेत असर पार्न सक्ने देखिन्छ। भारतीय सुरक्षा निकायले सिंहको गतिविधिबारे नेपाल सरकारसँग जानकारी माग्ने सम्भावना छ। यस्ता गतिविधिले नेपालको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन्।
सुरक्षा खतरा र आवश्यक कदम
अमरजीत सिंहजस्ता द्वैध नागरिकता लिएर अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा नलिएको खण्डमा नेपालको राष्ट्रिय सुरक्षामै ठूलो खतरा निम्तिन सक्ने देखिन्छ। प्रहरी र सम्बन्धित निकायले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग सर्वसाधारणबाट उठेको छ। साथै, नेपाल–भारत खुला सीमाको दुरुपयोग रोक्न दुवै देशले संयुक्त रूपमा कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।