२०८२ असार १७ गते, मंगलवार ०४:३८

काठमाडौँ-

वर्षाका कारण पटक-पटक अवरुद्ध भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को शीर्षस्थान कब्जा गरेको छ।

मुम्बईले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल प्रभावित बनायो। १९ ओभरमा गुजरातलाई १४७ रनको संशोधित लक्ष्य दिइएको थियो, जुन उसले ७ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ओभरमा १५ रन आवश्यक हुँदा दीपक चाहरले सुरुका तीन बलमा चौका र छक्का खाएपछि गुजरातले जित सुनिश्चित गर्‍यो। अन्तिम बलमा १ रन चाहिंदा मुम्बईले रनआउट गर्न नसक्दा पराजय भोग्यो।

गुजरातका कप्तान शुभमन गिलले ४६ बलमा ३ चौका र १ छक्कासहित ४३ रन बनाए। जोस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रन जोडे। मुम्बईका जसप्रित बुमराहले गिल र शाहरुख खानलाई आउट गर्दै खेलमा फर्काउने प्रयास गरे, तर कप्तान हार्दिक पान्ड्याको कमजोर बलिङ र अन्तिम ओभरमा गल्ती महँगो साबित भयो। बुमराह, ट्रेन्ट बोल्ट र अश्विनले २-२ विकेट लिए भने चाहरले १ विकेट हात पारे।

यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङमा पठाएको थियो। मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। ओपनर रायन रिकल्टन २ र रोहित शर्मा ७ रनमा आउट भए। विल ज्याक्स (५३) र सूर्यकुमार यादव (३५) ले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। कोर्बिन बोचले २७ रन बनाए, तर अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

गुजरात ११ खेलमा ८ जितसहित १६ अंक बोकेर शीर्षस्थानमा उक्लिएको छ। मुम्बई १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ। भोलि आईपीएलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस