पर्सा-
पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका वडा नं. ८, जगतपुर, मननपुरमा राष्ट्रिय मुक्ति पार्टी नेपालले त्रैमासिक अभियानअन्तर्गत संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रम पार्टीका जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने संविधान सभा सदस्य इस्लाम हवारीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू नेजामुद्दीन शमानी, अनिरुद्ध प्रसाद कलवार, अली अकबर मियाँ, फहिम हवारीलगायत स्थानीय नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा १२६ जनालाई पार्टीको सदस्यता वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै नेताहरूले नेपालमा मधेशी, थारू, जनजातिलगायत समुदायमाथि लामो समयदेखि भेदभाव हुँदै आएको र पटक–पटक भएका संघर्षका बाबजुद पनि विभेद कायमै रहेको बताए। उनीहरूले देशमा संस्थागत भ्रष्टाचार, ठगी धन्दा र अन्यायविरुद्ध अन्तिम लडाइँ लड्न संगठनको आवश्यकता रहेको औंल्याए। साथै, पोखरिया नगरपालिकामा भइरहेको भ्रष्टाचार र पार्टीले बुझाएको ज्ञापनपत्रमा सुनुवाइ नभएको भन्दै सशक्त आन्दोलनको आवश्यकता रहेको बताए।

नेताहरूले पोखरिया नगरपालिकामा व्याप्त समस्याविरुद्ध एकजुट भई आन्दोलन गर्न र राष्ट्रिय मुक्ति पार्टीको अभियानमा सहभागी हुन स्थानीय जनसमुदायलाई हार्दिक अनुरोध गरेका छन्। कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले आगामी दिनमा संगठनलाई थप सशक्त बनाउँदै न्याय र समानताका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।