२०८२ असार १७ गते, मंगलवार ०१:३७

वीरगन्ज-
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरमा सञ्चालित सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीलाई करको दायरामा आउन आग्रह गरेका छन्। आज महानगरपालिकाको कार्यकक्षमा आयोजित होटल तथा पर्यटन व्यवसायीसँगको भेटघाट एवम् छलफल कार्यक्रममा प्रमुख सिंहले यो आग्रह गरेका हुन्।

प्रमुख सिंहले वीरगन्जको समग्र विकासका लागि कर तिरेर आफ्नो जिम्मेवारी पूरा गर्न पर्यटन व्यवसायीलाई विशेष अनुरोध गरे। उनले भने, “कर तिर्नु व्यवसायीको कर्तव्य हो। यसले महानगरको विकासमा ठूलो योगदान पुग्छ। सबै व्यवसायीले करको दायरामा आएर वीरगन्जलाई समृद्ध बनाउन सहयोग गर्नुपर्छ।”

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ, वीरगन्जका अध्यक्ष हरि पन्तले महानगरका अधिकांश व्यवसायी करको दायरामा आइसकेको र बाँकी व्यवसायी पनि यसप्रति सकारात्मक रहेको बताए। “हामी वीरगन्जको विकासका लागि महानगरसँग सहकार्य गर्न तयार छौं। कर तिर्नु हाम्रो दायित्व हो, र सबै होटल तथा पर्यटन व्यवसायीलाई अनिवार्य रूपमा करको दायरामा ल्याउन हामी प्रतिबद्ध छौं,” पन्तले भने।

उक्त भेटघाट तथा छलफल कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलम, कर शाखाका अधिकृत, होटल तथा पर्यटन व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेतलगायत होटल र पार्टी प्यालेस व्यवसायीहरू सहभागी थिए।

महानगरपालिकाले करको दायरा विस्तार गरेर राजस्व सङ्कलन बढाउने र त्यसलाई विकास निर्माणमा लगानी गर्ने योजना बनाएको छ। प्रमुख सिंहले व्यवसायीहरूलाई कर प्रणालीमा सहभागी भएर पारदर्शी र जिम्मेवार व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गरे।

होटल तथा पर्यटन व्यवसायी सङ्घले करको दायरामा नआएका व्यवसायीलाई प्रोत्साहन गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। साथै, महानगरपालिकाले कर सङ्कलन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस