२०८२ असार १७ गते, मंगलवार ०१:३९

काठमाडौं-
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सशस्त्र बललाई प्रतिकारको अधिकार दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तानले भारतीय आक्रमणमा पाँच लडाकु विमान खसालेको दाबी गरेको छ, तर भारतले यसबारे मौनता साँधेको छ।

मंगलबार राति भारतले ‘अपरेशन सिन्दूर’ मार्फत नौ आतंकवादी अखडामा आक्रमण गरेको दाबी गरेको छ। नयाँदिल्लीमा भएको पत्रकार सम्मेलनमा भारतीय सैन्य प्रवक्ताले आक्रमण जैश–ए–मोहम्मद र लश्कर–ए–तोइबाविरुद्ध केन्द्रित रहेको बताए। आक्रमण २२ अप्रिलको पहलगाम हमलाको जवाफमा भएको भारतको भनाइ छ, जसमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो।

पाकिस्तानले आक्रमणमा कोटली, बहावलपुर, मुजफ्फराबाद, बाग र मुरिद्केमा २६ नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जनाएको छ। पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय आक्रमणलाई ‘कायरतापूर्ण’ भन्दै जवाफ दिने अधिकार सुरक्षित राखेको बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्वलाई ‘लज्जास्पद’ भन्दै शान्तिको अपिल गरेका छन्। घटनामा ज्यान गुमाउनेको यकिन तथ्यांक आउन बाँकी छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस