वीरगन्ज-
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विजयी अध्यक्ष राजकुमार यादवमाथि स्ववियु सदस्यहरू रुपेश यादव र आयुष यादवलाई निघात कुटपिट गरेको गम्भीर आरोप लागेको छ।
फेसबुक पोस्टले निम्त्यायो विवाद
समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव तथा स्ववियु सदस्य आयुष यादवका अनुसार, स्ववियु निर्वाचन भएको डेढ महिना बितिसक्दा पनि अध्यक्ष राजकुमार यादवले विद्यार्थीको हकहितका लागि कुनै काम नगरेको भन्दै स्ववियु सदस्य रुपेश साहले फेसबुकमा आक्रोश पोखेका थिए। साहको उक्त पोस्टको प्रतिशोधमा अध्यक्ष यादव र उनको समूहले क्याम्पस परिसरमा साहमाथि आक्रमण गरेको आरोप छ। साहलाई छुटाउन जाँदा आयुष यादवमाथि पनि कुटपिट भएको उनले बताए।
निर्वाचनपछिको निष्क्रियताको आरोप
आयुष यादवले निर्वाचनपछि स्ववियुको कुनै बैठक नबसेको र विद्यार्थी हितका लागि कुनै काम नभएको गुनासो गरे। उनले भने, “अध्यक्ष राजकुमार यादवले विद्यार्थी र शिक्षकलाई डरत्रास देखाउँदै गैरजिम्मेवार व्यवहार गरिरहेका छन्। यही कुरा फेसबुकमा लेख्दा हामीलाई क्याम्पसमा घेरा हालेर कुटपिट गरियो।”
क्याम्पसमा तनाव

घटनापछि क्याम्पस परिसरमा तनावको अवस्था सिर्जना भएको छ। विद्यार्थी संगठनहरूले अध्यक्ष यादवको व्यवहारको निन्दा गर्दै क्याम्पस प्रशासन र प्रहरीसँग घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। क्याम्पस प्रशासनले भने यो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
विद्यार्थीहरूले क्याम्पसमा स्वच्छ र सुरक्षित वातावरणका लागि दोषीमाथि कारबाही र स्ववियु नेतृत्वको जिम्मेवारी सुनिश्चित गर्न माग गरेका छन्।