२०८२ असार १६ गते, सोमबार २०:५३

चितवन-

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को चैतसम्म पर्यटक सङ्ख्या घटेको तथ्याङ्कले देखाएको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार, यस वर्ष चैतसम्म एक लाख ८२ हजार २२७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्, जबकि गत वर्ष यो अवधिमा दुई लाख ५० हजार ३३७ जनाले भ्रमण गरेका थिए।

चालु आर्थिक वर्षको चैतसम्म ९२ हजार ८९० नेपाली, १६ हजार ७९८ सार्क देशका र ७२ हजार ५३९ तेस्रो देशका पर्यटकले निकुञ्ज घुमेका छन्। विशेषगरी आन्तरिक पर्यटकको सङ्ख्यामा ठूलो गिरावट देखिएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र जिप सफारीको सङ्ख्या घट्दा राजस्वमा पनि कमी आएको बताए। गत वर्ष यो अवधिमा २८ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा यस वर्ष २३ करोड ६४ लाख ९९ हजार रुपैयाँ मात्र सङ्कलन भएको छ। यद्यपि, उनले भीडभाड कम हुँदा वन्यजन्तुका लागि भने सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले कोभिडपछिको आर्थिक मन्दी र गत वर्षको उच्च पर्यटक सङ्ख्यापछि स्वाभाविक रूपमा सङ्ख्या घटेको हुन सक्ने बताए। उनले निकुञ्जभित्र घाँसे मैदानको समयमै व्यवस्थापन नहुँदा दुर्लभ वन्यजन्तु अवलोकनमा कठिनाइले पनि पर्यटक सङ्ख्या प्रभावित भएको अनुमान गरे।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलियाले भने सडक र हवाई यातायातको समस्यालाई मुख्य कारण मानेका छन्। “चितवनबाट भैरहवा, काठमाडौँ र पोखरातर्फको सडक स्तरोन्नतिका कारण यात्रा असहज छ। जहाजको उडान समयमा नहुने र भाडा महँगो हुँदा पर्यटक आउन सकिरहेका छैनन्,” उनले भने।

पर्यटक सङ्ख्या र राजस्वमा आएको कमीले स्थानीय पर्यटन व्यवसायमा समेत असर परेको छ। सम्बन्धित निकायले सडक सुधार, हवाई भाडा नियन्त्रण र निकुञ्ज व्यवस्थापनमा ध्यान दिनुपर्ने व्यवसायीहरूको माग छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस