रौतहट-
रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै २१ वर्षीया सानिया प्रविनको शङ्कास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको कारण हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
कटहरिया–५ बजार क्षेत्रका अरमान राय भाटकी श्रीमती सानिया आइतबार दिउँसो आफ्नै कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। पोस्टमार्टमपछि शव मृतककी आमा कायमा खातुनले बुझेकी छन्।

सानियाको विवाह ६ महिनाअघि अरमानसँग मुस्लिम परम्पराअनुसार भएको थियो। मृतककी आमा कायमाले ज्वाइँ अरमान र उनको परिवारले दाइजोको लागि सानियालाई शारीरिक र मानसिक यातना दिँदै आएको आरोप लगाएकी छन्। यातना सहन नसकेर सानियाको हत्या गरी आत्महत्या देखाउन खोजिएको उनको दाबी छ।
माइती पक्षले हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएका छन्। प्रहरी उपरीक्षक (डीएसपी) राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढ्ने बताए।