काठमाडौं—
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज हङकङसँग समूह चरणको तेस्रो खेल खेल्दैछ। बैंककको टेर्डथाई क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो १२ः३० बजे सुरु हुनेछ। दुवै टोलीका लागि यो खेल सुपर ३ चरणमा प्रवेशका लागि निर्णायक हुने देखिएको छ।
नेपालले यो खेल जिते सुपर ३ मा स्थान पक्का गर्नेछ, तर हारले विश्वकप छनोटको यात्रा लगभग समाप्त हुने खतरा छ। त्यसैले यो खेल नेपाली टोलीका लागि ‘डु–ओर–डाइ’ अवस्था बनेको छ। हङकङ पनि जितको खोजीमा छ, किनकि यो जितले उसको सुपर ३ प्रवेशको सम्भावना बलियो बनाउनेछ।

नेपाल र हङकङबीचको प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा निकै रोमाञ्चक रहँदै आएको छ। हालसम्म ९ पटक भेट्दा नेपालले ५ र हङकङले ४ खेल जितेका छन्। यसै वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा दुवै टोलीले एक–एक खेल जितेका थिए। पहिलो खेलमा हङकङले नेपाललाई २ विकेटले हराएको थियो, तर दोस्रो खेलमा नेपालले ६ विकेटको शानदार जित निकालेको थियो।
समूह ‘बी’ को अंक तालिकामा नेपाल हाल शीर्ष स्थानमा छ। पहिलो खेलमा हङकङसँगको भिडन्त वर्षाले प्रभावित हुँदा दुवै टोलीले अंक बाँडेका थिए। दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको थियो। यता, हङकङका दुवै खेल वर्षाले प्रभावित भएकाले उसले अंक बाँड्नुपरेको छ।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता कुँवर, पूजा महतो र रुबिना क्षेत्रीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ। अघिल्लो खेलमा ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज पनि त्यही लय कायम राखे हङकङमाथि हावी हुन सक्छ। हङकङका लागि भने शान्जिन शहजाद र क्यारी चानजस्ता खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्नेछ।
यो खेलको प्रत्यक्ष प्रसारण फ्यानकोड एप र आइसिसी टिभीमार्फत हेर्न सकिनेछ। नेपालले यो खेलमा जित निकाल्दै सुपर ३ को यात्रा पक्का गर्ने अपेक्षा समर्थकहरूले गरेका छन्।