काठमाडौं—
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। समय अभावका कारण थुनछेक बहस हुन नसकेकाले राईलाई प्रहरी हिरासतमै राखेर भोलि पुनः अदालतमा पेश गरिने भएको छ।
अनुसन्धान प्रतिवेदनअनुसार, राई स्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य हुँदा ८९ लाख ३४ हजार र सचिव हुँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ हिनामिना भएको देखिएको छ। यद्यपि, संगठित कसुरमा आधारित भएकाले राईविरुद्ध ३७ लाख ३५ हजारको बिगो मागदाबी गरिएको छ। अन्य २० प्रतिवादीविरुद्ध पनि सोही बमोजिम बिगो मागदाबी गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले गितेन्द्रबाबु (जीबी) राई, देबेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, थशविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमला लामा, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ र राजु बराललाई ठगी र संगठित अपराधको कसुरमा प्रतिवादी बनाएको छ।
राईसहित २१ जनाविरुद्ध ६६९ बचतकर्ताले ८७ थान किटानी जाहेरी दिएका छन्। राईलाई गत वैशाख १३ गते राति कपनस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनी यसअघि यो मुद्दामा फरार रहँदै आएकी थिइन्।
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा कुल ५,६६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको छ। यो मुद्दाले सहकारी क्षेत्रको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।