२०८२ असार १७ गते, मंगलवार ०४:५५

काठमाडौं —

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्रमा अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौं आएका २५ वर्षीय अभ्युदय पाहुनेलाई जाँचका क्रममा उनको सुटकेशमा १० किलो १७० ग्राम गाँजा फेला परेपछि पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं पठाइएको छ।

यसैबीच, कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट मंगलबार दिउँसो १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका धनगढी–१ बस्ने ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी छन्। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

प्रहरीले दुवै घटनामा लागूऔषध सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ। यी पक्राउले नेपाल–भारत सीमाना र अन्तर्राष्ट्रिय उडानमार्फत हुने लागूऔषध तस्करीविरुद्ध प्रहरीको कडा निगरानीलाई संकेत गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस