काठमाडौं—
वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबै मिलेर मुलुकमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउन सबै क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीकर्तालाई सुरक्षित महसुस गराउन नसक्दा उद्योगधन्दा सञ्चालन गर्न नसकिएको बताउनु भयो ।

उहाँले नेपालमा लगानीकर्तालाई ठग्ने र राजनीतिक तथा अन्य क्षेत्रबाट तनाव दिने गरिएको बताउँदै लगानीको वातावरण सिर्जना नभएको जिकिर गर्नुभयो । उहाँले प्रदेशलाई आवश्यक अधिकार नहुँदा उद्योगधन्दाहरू सञ्चालन गर्न नसकिएको बताउनु भयो । मुख्यमन्त्री लामाले सङ्घ सरकारले हेटौँडा सिमेन्ट उद्योग सञ्चालन जिम्मेवारी प्रदान गरे दुई वर्षभित्र नाफामा ल्याउने दाबी गर्नुभयो । उहाँले हेटौँडा कपडा उद्योग पनि पुँजी नभएर थन्किएर बसेको जिकिर गर्नुभयो ।
उहाँले सङ्घीयताको कार्यान्वयन सही तरिकाले नहुँदा नैराश्यता छाएको बताउनु भयो ।